नेपाल समाजवादी पार्टीको चौथो पूर्ण बैठक यही मंसिर ६ गते काठमाडौंमा सम्पन्न भएको छ । केन्द्रीय समिति बैठकबाट पार्टी झन एकताबद्ध हुँदै सुदृढीकरणको दिशातिर गएको, पार्टी एकता/ध्रुविकरणबारे रहेका केही भ्रमहरुलाई नेतृत्वले स्पष्ट पार्ने अवसर प्राप्त भएको, बैठक रुपान्तरण सहित विश्वास र एकताको बैठक भएको साथै नेसपा सानो देखिएता पनि विचार, दृष्टिकोणको हिसाबले राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको अनुभूति व्यक्त भएको छ ।
केन्द्रीय समिति बैठक पश्चात् मंसिर ११ गते नेसपाको केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बसेको छ । उक्त बैठकले हालै सम्पन्न केन्द्रीय समिति बैठकको सकारात्मक समिक्षा गरेको छ ।
माके लगाएत विचार, निति, सिद्धान्त, कार्यक्रम मिल्ने दल/समूहसँग वार्ता सम्वाद गर्न पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष मा. महिन्द्रराय यादव, सह-अध्यक्ष मा. गंगा नारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब, महासचिव रमेश प्रसाद यादव, केन्द्रीय कार्यकारिणी सदस्य डा. जनक शाह रहेको ६ सदस्यीय पार्टी एकता/ध्रुविकरण संयोजन समिति गठन भएको छ ।
राष्ट्रिय सम्मेलनको कार्यविधि तयार गर्न र केन्द्रीय समितिको अध्यावधिकरण साथै केन्द्रीय समितिमा थपघटको प्रस्ताव तयार गर्न सह-अध्यक्ष गंगा नारायण श्रेष्ठको नेतृत्वमा पार्टीका उपाध्यक्ष हिसिला यमी, महासचिव रमेश प्रसाद यादव, सचिव ईश्वर रिजाल, कार्यकारिणी सदस्य कृष्ण शर्मा रहेको कार्यदललाई जिम्मेवारी दिइएको छ।
कार्यकारिणी बैठकबाट कर्णाली प्रदेश इन्चार्जमा पार्टीका राजनीतिक समिति सदस्य भिम बहादुर मल्ललाई जिम्मेवारी दिइएको छ भने पार्टीका राजनीतिक समिति सदस्य दान बहादुर सहकारीलाई प्रवास प्रदेशको सह-इन्चार्ज जिम्मेवारी दिँदै भारत प्रवास हेर्ने गरी पठाइएको छ ।
पार्टीको अभियान/ राष्ट्रिय सम्मेलन अवधिभर पार्टीका सबै केन्द्रीय सदस्यहरु अनिवार्य आफ्नो जिल्ला/पालिकामा खट्नुपर्ने निर्णय भएको छ ।