हाम्रो पाँच 'स'

समतामूलक समृद्धि

हामीले अहिलेसम्म राजनीतिक अधिकारको लडाईं लड्यौं । तर देश अझै पनि गरीबी, बेरोजगारी र परनिर्भरताको सांग्लोले बाँधिएको छ । त्यो सांग्लो चुँडाल्नु र देशलाई अन्तरनिर्भर विकास र समृद्धिको शिखरमा पुर्‍याउनु अबको हाम्रो मुख्य कार्यभार हो । विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा पुर्‍याएर समतामूलक समृद्धि हासिल गर्नु हाम्रो दायित्व हो । हामी फोस्रा नारा र भाषणमा हैन जीवन व्यवहारमा समृद्ध र समतामूलक नेपाल बनाउनेछौं । उर्जाशील दिमाग र कर्मशील हात भएका युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्नेछौं ।

समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र

हामी लोकतन्त्रलाई औपचारिक वा कर्मकाण्डी हैन, वास्तविक लोकतन्त्र बनाउन चाहन्छौं । त्यसनिम्ति हामीले पार्टी र राज्यका निकायहरुमा मधेशी–थारु, आदिवासी/जनजाति र खस–आर्य तथा महिला र दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नेछौं । पार्टी र राज्यको अति–केन्द्रिकृत ढाँचाको अन्त्य गर्दै प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नेछौं । एक व्यक्ति, एक कार्यकारी पद र एक कार्यकारी पद, अधिकतम दुई कार्यकालको व्यवस्था कडाइपूर्वक लागु गर्नेछौं । हामी लोकतन्त्रलाई सिंहदरबारभित्र कैद गर्ने हैन जनताको घर–दैलोमा पुर्‍याउनेछौं ।

सुशासन/सदाचार

आज देशमा भ्रष्टाचार महामारी झैं फैलिएको छ । पार्टी र राज्यका सबै निकाय यो महामारीबाट ग्रस्त छन् । निष्ठावान व्यक्तिहरु र आदर्शवान युवाहरु राजनीतिबाट विमुख हुँदै गइरहेका छन् । यसको अन्त्य गरेर भ्रष्टाचारमुक्त सुशासनको प्रत्याभूति गर्नु तत्काल हाम्रो मुख्य कार्यभार हो । आर्थिक कारोबारमा पारदर्शिता र विधिको शासनको पालना गर्नु हाम्रो प्रमुख पहिचान हुनेछ । अनि मात्र आर्थिक प्रगतिको ढोका खुल्नेछ ।

समुन्नत समाजवाद

हामी ज्ञान, विज्ञान र विचारको निरन्तर विकास हुने कुरामा विश्वास गर्छौं । त्यसैले विगतका कुनै रुढ विचार वा वादमा टाँसिइरहनुपर्छ भन्ने मान्यता राख्दैनौं । मानव जातिले आविष्कार गरेका पछिल्ला ज्ञान र विज्ञानलाई अंगिकार गरेर निरन्तर अगाडि बढिरहन्छौं । एक्काइसौं शताब्दीको आवश्यकता र नेपालको विशिष्ठता अनुरुप एक वाम–लोकतान्त्रिक शक्तिको रुपमा संगठित हुँदै समुन्नत समाजवादको दिशामा अघि बढ्नेछौं । तत्काल उद्यमशील राष्ट्रिय पूँजीको विकासमा जोड दिँदै व्यक्तिको निजत्व प्रस्फुटित गर्ने समुन्नत समाजवादको आधार तयार गर्नेछौं ।

स्वाधिनता/सार्वभौमसत्ता

दुई शक्तिशाली मुलुकहरुको बीचमा रहेको हाम्रो देशलाई आजसम्म हामीले ‘दुई ढुंगाबीचको तरुल’ मान्दै आयौं । तर अब हामी दुई देशबीच थिचिएको तरुल हैन, ‘दुई विशाल बजारबीच फैलिएको गतिशील पुल’ बन्न सक्छौं । दुई छिमेकीको तीब्र आर्थिक विकासलाई हाम्रो देशको हितमा परिचालित गर्न सक्छौं । गरीब र परनिर्भर रहेसम्म हाम्रो स्वाधीनता र सार्वभौमसत्ता संकटमा परिरहनेछ । त्यसैले अब आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धिमा आधारित प्रगतिशील राष्ट्रवादको पक्षपोषण गरौं । सबै देशसँग पारदर्शी र मर्यादित सम्बन्ध कायम गरौं ।
Skip to content